संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

एकतावद्ध भएर प्रतिगामी षड्यन्त्र परास्त गर्छौं : प्रधानमन्त्री

अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनताको निकै ठूलो संघर्ष र बलिदानबाट प्राप्त अधिकार उल्टाउने कोसिस गरिएको भन्दै एकतावद्ध भएर परास्त गरिने बताउनु भएको छ।

तनहुँ। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनताको निकै ठूलो संघर्ष र बलिदानबाट प्राप्त अधिकार उल्टाउने कोसिस गरिएको भन्दै एकतावद्ध भएर परास्त गरिने बताउनु भएको छ।

मंसिर १ गते शुक्रबार दिउँसो तनहुँको आबुखैरनीमा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले भन्नुभयो, "नेपाली जनताले निकै ठूलो संघर्ष र बलिदान गरेका कारण देशमा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगले अधिकार पाएका छन्। केही सामन्ती तत्वलाई जनताले अधिकार पाएको कुरा पचेको छैन। उनीहरू विभिन्न षड्यन्त्रमा लागेका छन्। बिहान मात्रै मैले सुरक्षा निकायका प्रमुखहरूसँग कुरा गरेको थिएँ। देशको सुरक्षा अवस्था सामान्य छ। १२ बुँदे समझदारीका पक्षधर शक्ति परिवर्तनको रक्षाका निम्ति एकैठाउँ छौं। त्यसैले प्रतिगामी दुस्साहसलाई दृढताका साथ परास्त गर्छौं।"

"हाम्रो पार्टी नेतृत्वको सरकारले देश र जनताका पक्षमा महत्त्वपूर्ण कामहरू गरेको छ। भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापित, जनतालाई सेवा दिने कुरामा हामी इमानदार भएर लागेका छौं" उहाँले भन्नुभयो, "भ्रष्टाचारका फाइलहरू खोलिँदैछ, यो प्रक्रिया रोकिन्न। सरकारले राम्रो काम गरेका कारण प्रतिगामीहरू आत्तिएका छन्। त्यसैले सरकारले गरेका राम्रा काम जनतामा लैजाउँ।"

"मैले सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा थियो। अहिले अर्थतन्त्रमा राम्रो सुधार आएको छ। तर दवावमुक्त भइसकेको छैन" प्रधानमन्त्रीले भन्नुभयो, मंसीर ४ गते मैले अर्थतन्त्र सुधार्न बृहत बैठक बोलाएको छु। त्यो बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुनेछ। उक्त बैठकले ठोस प्याकेज घोषणा गर्नेछ र अर्थतन्त्रमा सुधार ल्याइनेछ।"

दर्जनौं नेता-कार्यकर्ता माओवादीमा प्रवेश

कार्यक्रममा नेकपा एमाले लगायत विभिन्न पार्टीका नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ। पार्टी प्रवेश गर्नेहरूमा नेकपा एमाले आबुखैरेनी गाउँ कमिटी उपाध्यक्ष सम्झना बिक, वडा अध्यक्ष बद्री भट्टराई, गाउँ कमिटी सदस्य नारायणी अधिकारी, वडा सदस्य उपेन्द्र चापागाईं, सामाजिक व्यक्तित्वहरू दीपक गुरूङ, अभिशेक गुरूङ, सूर्य बिक, युवा व्यवसायीहरू भगवान श्रेष्ठ, विनय श्रेष्ठ, तमु समाजका अध्यक्ष चीजकुमार गुरूङ, युवा नेताहरू सन्दीप सुनार, बम बहादुर सुनार, जगत बिक, अमृत बिक, बादल सुनार, निश्चल सुनार, सुजन गुरूङ, नेत्र गुरूङ, रामबादुर गुरुङ लगायत रहेका छन्। नवप्रवेशी नेता-कार्यकर्तालाई अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले स्वागत गर्नुभएको थियो।

मुस्ताङमा १ सय ३५ नेता-कार्यकर्ता माओवादीमा प्रवेश, अध्यक्ष प्रचण्डद्वारा स्वागत

जोमसोम। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा (माओवादी केन्द्र) मुस्ताङ जिल्लाको भेलालाई सम्बोधन र विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गर्ने नेता-कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभएको छ।



जनतासँग माओवादी विशेष रूपान्तरण अभियानका क्रममा आयोजित कार्यक्रममा बोल्दै उहाँले माओवादी केन्द्र नेतृत्वको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गरिरहेको बताउँदै भ्रष्टाचारविरोधी अभियानले नयाँ उत्साह जागेको बताउनु भयो।

भेलामा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, "हाम्रो पार्टी नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय र समृद्धिका पक्षमा काम गरिरहेको छ। यो देशमा सुशासन कायम गर्न, जनताको जीवनमा परिवर्तन ल्याउन, अर्थतन्त्रलाई गति दिन हामीले मात्रै सक्छौं। त्यो इच्छाशक्ति, दृढता र योजना हामीसँग मात्रै छ। सरकार र पार्टीलाई जोडेर परिवर्तनको पक्षमा नयाँ वातावरण सिर्जना गर्न पार्टीले विशेष अभियान सञ्चालन गरिरहेको छ। यसपछि पनि अभियानले निरन्तरता पाउनेछ। हामीले शक्तिशाली पार्टी निर्माण गर्नेछौं।"

उहाँले थप्नुभयो, "मेरो तेस्रो कार्यकाल सम्पूर्ण रूपले देश र जनताको हितमा अधिकतम सदुपयोग गर्न कोसिस गरिरहेको छु। मैले नेतृत्व सम्हाल्दै गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा थियो, अहिले राम्रो सुधार आएको छ। सबै सूचकहरू सकारात्मक छन्। जनतामा अब केही हुन्छ भन्ने विश्वास जागेको छ। तसर्थ, सरकारले गरेका राम्रा काम जनतामा लैजान र सम्पूर्ण पार्टी जनसेवामा केन्द्रित हुन जरूरी छ। यसले हामी फेरि शक्तिशाली तुल्याउनेछ, जनताको भरोसाको मुख्य केन्द्रका रूपमा स्थापित गर्नेछ।"

उहाँले मुस्ताङको विकास र जलवायु परिवर्तनले ल्याएका नयाँ संकट र जोखिमहरू न्युनीकरण गर्न सरकार गम्भीर रूपमा लाग्नेसमेत बताउनु भयो।

भेलामा विभिन्न पार्टी परित्याग र विभिन्न सामाजिक व्यक्तित्व गरी १३५ जना नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्। उनीहरूलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गर्नुभएको थियो।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेल, केन्द्रीय सदस्य हरिराज अधिकारी, गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरूङ लगायतको उपस्थिति रहेको थियो।