संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

पार्टी रुपान्तरण अभियानले जनतामा नयाँ आशा उत्साह पैदा गर्‍यो - माओवादी केन्द्र

माओवादी केन्द्रको विशेष पत्रकार सम्मेलनः चार महिने ‘जनतासँग माओवादी रुपान्तरण विशेष अभियान’ले  नेता कार्यकर्तामा थप उत्साह  र जनतामा आशा जगाएको छ - प्रवक्ता अग्निप्रसाद सापकोटा

नेकपा (माओवादी केन्द्र)ले पार्टीले सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी रुपान्तरण विशेष अभियान’ले  नेता कार्यकर्तामा थप उत्साह  र जनतामा आशा जगाएको जनाएको छ ।

आज पार्टी केन्द्रीय  कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले निर्वाचनका समयमा मात्रै नभइ अन्य समयमा पनि माओवादी जनताको बीचमा आउँछन् भन्ने अभियानबाट पुष्टि भएको उल्लेख गर्नुभयो  । पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले भन्नुभयो, अभियान सफल भएको छ, टोल कमिटीदेखि सङ्गठन निर्माण भएका छन्, पार्टी तथा सङ्गठन सक्रिय भएको छ”, उहाँले भन्नुभयो, “पार्टीबाट पलायन हुने क्रम रोकिएर पुराना नेता कार्यकर्ता पुनः जोडिएका छन्, पार्टी प्रवेशको लहर चलेको छ ।”

अभियानले पार्टीलाई रुपान्तरण गरेर एकताबद्ध बनाएको उल्लेख गर्दै उपाध्यक्ष सापकोटाले नेता, कार्यकर्ता र जनतामा नयाँ आशा र उत्साह पैदा भएको बताउनुभयो । “जनताको आशा माओवादी पार्टीसँगै रहेको पाइएको छ, जनताले अभियान निरन्तरताको माग गरेका छन्”, उहाँले भन्नुभयो । पार्टी विशेष अभियानका क्रममा पार्टीभित्रका, जनवर्गीय सङ्गठन र मोर्चाको अन्तर्विरोध सतहमा आएको,धेरै जसो  अन्तर्विरोधहरू अभियानकै क्रममा हल भएको  प्रवक्ता सापकोटाले बताउनुभयो । प्रवक्ता सापकोटाले अभियानले नेताहरूको मूल्याङ्कन गर्ने आधार बनेको बताउँदै विचार, कार्यदिशा तय गरी समाजवादी विचारको आधार तय गर्न भने नसकेको स्पष्ट पार्नुभयो । पार्टी विधानअनुसार चल्नुपर्छ भनेर कार्यकर्ताले नेतृत्वको ध्यानाकृष्ट गराएको भन्दै  प्रवक्ता सापकोटाले  भन्नुभयो, “पार्टीको नीति, निर्देशन नेतृत्व तहबाटै कार्यान्वयन हुनुपर्छ भनेर कार्यकर्ताले जोड दिनुभएको छ”,

देशव्यापीरुपमा सञ्चालित अभियानको पालिका, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश तहबाट बृहद् समीक्षासहित प्रतिवेदन बनाउने तयारी भइरहेको जानकारी दिँदै उपाध्यक्ष सापकोटाले आसन्न केन्द्रीय समिति बैठकमा अभियानका बारेमा समीक्षा हुने बताउनुभयो । पार्टीले पहिचान र पक्षधरतालाई प्रस्ट पार्नुपर्छ भन्ने कार्यकर्ताको मत छ”, अभियानका क्रममा कार्यकर्ता र जनताले ध्यानाकर्षण गराएको विषय उल्लेख गर्दै उहाँले भन्नुभयो, “पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले थालेका सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानलाई थप सशक्त बनाउनुपर्ने जनताको माग छ ।”

अभियानका क्रममा माओवादी संस्कार र संस्कृतिप्रति पार्टी किन उदासीन भएको हो भनी जनताबाट प्रश्न उठेको प्रवक्ता सापकोटाको भनाई  छ । “संस्कार र संस्कृतिप्रति माओवादीको स्पष्ट र सुझबुझपूर्ण दृष्टिकोण थियो, अहिले उदासीन भएको हो कि भन्ने प्रश्न जनताको तहबाट आएको छ”, उहाँले भन्नुभयो ।

पत्रकार सम्मेलनमा उपाध्यक्ष सापकोटाले वर्तमान सरकारका कामले जनतालाई उत्साहित बनाएको बताउनुभयो । प्रधानमन्त्री दाहालले आर्थिक विकासलाई प्रमुख ‘एजेन्डा’ बनाउनुभएको उल्लेख गर्दै उहाँले कूटनीतिक क्षेत्रमा सरकारले  सफलता प्राप्त गरेको उहाँको भनाई  छ । प्रवक्ता सापकोटाले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले पुनर्गठनका लागि तयारी गरिरहेको भन्ने बुझिने बताउनुभयो । उहाँले गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निष्कर्षमा पुग्ने प्रधानमन्त्रीको तयारी रहेको जानकारी दिनुभयो ।‘‘प्रधानमन्त्रीको अभिव्यक्ति बुझ्दा आवश्यक पर्दा पुनर्गठनका लागि तयारी गर्दैछु भन्ने छ । गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निष्कर्षमा पुग्नुपर्छ भन्ने लागेको छ ।,’’ प्रवक्ता सापकोटाले भन्नुभयो, ‘‘तर प्रधानमन्त्रीको अभिव्यक्तिले उहाँमा रिसफल गरेर भने पनि मन्त्रीहरुको कामलाई अघि बढाउनुपर्छ, सिङ्गो मन्त्रिपरिषदको कामलाई प्रभावकारी बनाउनुपर्छ भन्ने छ । तर ठोस समीक्षा भएको छैन । उहाँले आफ्नो धारणा दिशा निर्देशका लागि भनिरहनुभएको छ । त्यसकै आधारमा छलफल चल्छ र के गर्ने भन्ने टुङ्गोमा पुग्छ ।’’ प्रवक्ता सापकोटाले प्रधानमन्त्रीको भनाइपछि छलफल गरेर मात्रै निर्णयमा पुग्ने बताउनुभयो ।