संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

प्रविधिको व्यवस्थित उपयोग अनिवार्य भइसकेको छ– अध्यक्ष प्रचण्ड

पार्टीको वेवसाइट उद्घाटन गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले अहिलेको युगमा विज्ञान प्रविधिको उचित उपयोग बिना कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्न करिब करिब असम्भव हुने अवस्था आएको बताउनु भयो।

काठमाडौं, मंसिर ११ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र) को वेवसाइट उद्घाटन गर्नुभएको छ। पार्टीको प्रचार तथा प्रकाशन विभागले तयार गरेको वेवसाइटको पार्टी कार्यालय पेरिसडाँडामा आज एक कार्यक्रमका बीच अध्यक्ष प्रचण्डले उद्घाटन गर्नुभएको हो। 

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले अहिलेको विज्ञान प्रविधिको युगमा पार्टीको वेवसाइट, सोसल मिडियाहरुमा पार्टीका गतिविधि अपडेट गर्नु पार्टीलाई पनि प्रविधिसँग जोड्ने काम भएको बताउनु भयो। पार्टीको वेवसाइट उद्घाटन गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले अहिलेको युगमा विज्ञान प्रविधिको उचित उपयोग बिना कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्न करिब करिब असम्भव हुने अवस्था आएको बताउनु भयो।

पार्टीको केन्द्रीय समिति बैठकमै प्रचार कार्यलाई व्यवस्थित बनाउन आधुनिक प्रविधिको प्रयोग गर्ने निर्णय भएको अध्यक्ष प्रचण्डले बताउनु भयो। उहाँले भन्नुभयो, ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गर्ने निर्णयसँगै हामीले आईसीटी गठन गर्ने, वेबसाइट निर्माण गर्ने निर्णय नै गरेका थियौं। जनतासँग जोडिने र त्यसलाई प्रविधिसँग जोडेर व्यवस्थित र व्यापक प्रचार गर्ने कुरालाई हामीले गहिरो गरी आत्मसात गर्न जरुरी छ।’

सोसल मिडियाहरुको शक्ति र प्रभावका बारेमा चर्चा गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘सोसल मिडियाले अहिले हिरोलाई भिलेन र भिलेनलाई हिरो बनाइदिन सक्छ। हामीले नेपाली जनतालाई हिरो बनाउनु पर्दछ, न कि कुनै अमूक व्यक्तिलाई। वास्तविक हिरो श्रमजीवी जनता नै हुन्।’ पछिल्लो समय लामो समय राजनीतिमा त्याग, तपस्या र बलिदान गरेका पार्टी र नेताहरु ओझेलमा पर्ने र दुई चार दिनमै सोसल मिडियामा आक्रमक बनेकै भरमा चर्चामा आउने खतरा बढिरहेको उहाँले बताउनु भयो।


२०८० मंसिर ११, पेरिसडाँडा, काठमाडौं