संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

दार्चुलामा माओवादीको विशेष प्रशिक्षण कार्यक्रम- फोटोफिचर

दार्चुला,पुस ९ -   नेकपा (माओवादी केन्द्र) ले  पार्टीको तीन महिने विशेष रुपान्तरण अभियान अन्तर्गत दार्चुला जिल्लामा आज  प्रशिक्षण कार्यक्रम गरेको छ । जिल्ला समन्यव समिति दार्चुलामा पार्टीका केन्द्रीय उपाध्यक्ष एवं प्रवक्ता अग्नी प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम गरेको हो । पार्टी रुपान्तरण अभियानमा रहेको माओवादी केन्द्रले देशैभर संगठन सुदृढीकरण तथा प्रशिक्षण कार्यक्रम गर्दै आएको छ । यसै सन्दर्भमा माओवादी केन्द्रको दार्चुला जिल्ला समितिले पूर्व सभामुख समेत रहनुभएका  पार्टी उपाध्यक्ष अग्नी प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा जिल्लास्तरका नेता कार्यकर्तालाई विशेष प्रशिक्षण दिएको हो । प्रशिक्षण कार्यक्रममा प्रवक्ता सापकोटाले पछिल्लो समय राष्ट्रियता र विभिन्न आन्दोलनबाट प्राप्त आन्दोलनमाथि आक्रमण हुन थालेको भन्दै त्यसको रक्षा र विकासका लागि माओवादी पार्टीले  आफ्नो शक्ति लगाउनुपर्नेमा जोड दिनुभएको छ । वर्तमान माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले देश र जनताका पक्षमा गरेका राम्रा कामलाई जनतामा लैजान र त्यसको लाभका विषयमा जनतालाई प्रशिक्षित गर्न नेता कार्यकर्तालाई प्रवक्ता सापकोटाको निर्देशन छ ।

 

माओवादी  केन्द्र दार्चुला जिल्ला समन्वय समितिको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा स्थानीय तहका नेता कार्यकर्ता देखि जिल्ला, प्रदेश र केन्द्रीय स्तरका नेताहरूको उपस्थिति रहेको छ । पार्टीको तीन महिने रुपान्तरण अभियान अन्तरगतको प्रशिक्षण कार्यक्रम भएकाले स्थानीय तहसम्मका पदाधिकारी वा सो सरहका नेता कार्यकर्तालाई मात्र प्रशिक्षणमा सहभागी गराइएको  माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक पदमराज पन्तले जानकारी दिनुभयो ।

प्रशिक्षण कार्यक्रममा  मुख्य प्रशिक्षण अघि जिल्ला नेताहरुले तीन महिने रुपान्तरण अभियानका उपलब्धिबारे समीक्षासहितको रिपोर्टिङ  प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका सुदूर पश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्ट, पूर्व मन्त्री एवं माओवादी केन्द्र सुदूर पश्चिम प्रदेशका प्रमुख सचेत मान बहादुर धामी 'सन्तोष' लगायतको उपस्थिति रहेको थियो । उपस्थित नेताहरूले माओवादी पार्टीलाई नयाँ उचाईमा पुर्‍याउनुका लागि तल्ला कमिटी देखि केन्द्रीय तहसम्म रुपान्तरण हुनुपर्नेमा जोड दिनुभएको छ ।  पार्टी रुपान्तरण अभियानले पार्टीलाई जनताको घर घरमा जान प्रोत्साहित गरेकाले आगामी निर्वाचन सम्म पार्टीको हैसियतलाई माथि उकास्न अभियान साथ दिनेमा कार्यक्रममा उपस्थित नेताहरूले विश्वास  त्यक्त गरेका छन् ।