संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

थबाङ विचार र क्रान्तिको प्रतीक हो : प्रचण्ड

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, "झण्डै ६ वर्षपछि हाम्रो आधार क्षेत्र थबाङ आउन पाउँदा मलाई हर्ष र गौरवको अनुभूति हुन्छ। म ४० वर्षअघि पहिलोपटक थबाङ आएको थिएँ। जनयुद्धको तयारी, उठान र सञ्चालन यहीं आधार बनाएर गरिएको थियो।"

कार्तिक २४, थबाङ, रोल्पा। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले रोल्पा जिल्लाको थबाङ विचार र क्रान्तिको प्रतीक भएको बताउनु भयो। शुक्रबार रोल्पा जिल्लाको थबाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डले उक्त कुरा बताउनु भएको हो।

पार्टीले सञ्चालन गरेको "जनतासँग माओवादी विशेष रूपान्तरण अभियान"मा अध्यक्षले सात वटै प्रदेशका एक/एक वटा वडाको जिम्मेवारी लिने निर्णयअनुसार उहाँले थबाङ गाउँपालिकाको इञ्चार्जसीपको भूमिका खेल्नुभएको हो। शुक्रबार सम्पन्न गाउँपालिकास्तरीय प्रशिक्षणमा अध्यक्ष प्रचण्डले पालिका इञ्चार्जको रूपमा निर्णय पुस्तिकामा हस्ताक्षर गर्नुका साथै सम्बोधन समेत गर्नुभयो।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, "झण्डै ६ वर्षपछि हाम्रो आधार क्षेत्र थबाङ आउन पाउँदा मलाई हर्ष र गौरवको अनुभूति हुन्छ। म ४० वर्षअघि पहिलोपटक थबाङ आएको थिएँ। जनयुद्धको तयारी, उठान र सञ्चालन यहीं आधार बनाएर गरिएको थियो।"

"थबाङ विचार र क्रान्तिको प्रतीक हो। यसले विचार दियो, गुणात्मक परिवर्तन दियो। एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ। यहाँ आएर फर्किंदा म जहिले पनि उर्जा लिएर फर्किन्छु।" उहाँले भन्नुभयो, "थबाङलाई देशले मात्रै चिन्दैन, सिंग‍ो विश्वले चिन्छ। यसबाट बेला बेला संसारलाई नै महत्त्वपूर्ण सन्देश दिन्छ।"

अध्यक्ष प्रचण्डले भन्नुभयो, "क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा हुँदैन। त्यो बाङ्गोटिङ्गो हुन्छ। यो कहिले अघि बढ्छ, कहिले एक कदम पछाडि हट्छ। यो विज्ञानको नियम ह‍ो। जनवादी क्रान्तिको चरणमा थवाङले ऐतिहासिक भूमिका खेल्यो। अब हामी नयाँ चरणको क्रान्तिको तयारीमा छौं। संविधानमा नै समाजवादको संकल्प गरिएको छ, त्यसका लागि नयाँ अभियान चाहिन्छ।"

"आगामी विशेष महाधिवेशनमा हामीले समाजवादको बाटो थप स्पष्ट पार्छौं। त्यहाँ गएर विचारको विकास र संश्लेषण पनि गर्छौं। समाजवादी क्रान्तिको तयारीको चरणमा समाजवादको आधार तयार पार्ने विचार चाहिन्छ।" प्रचण्डले भन्नुभयो, "रोल्पा, रूकुम, सल्यान, जाजरकोट लगायतका जिल्लाहरूले क्रान्तिको अगुवाइ गरे। आजको नयाँ परिस्थितिमा नयाँ ढंगले क्रान्तिको नेतृत्व गर्नुपर्छ। समाजवादी क्रान्तिको लागि थबाङले फेरि पनि अग्रणी भूमिका खेल्नुपर्छ।"

"शान्ति क्रियापछि हामी माओवादीहरू विभाजित भयौं। अहिले क्रमशः एकताको आधार तयार हुँदैछ। विप्लवजीहरू पनि एकता र ध्रुवीकरणको मुद्दामा नजिकै हुनुहुन्छ। हामी छिट्टै एकतावद्ध हुन्छौं।" अध्यक्षले भन्नुभयो।

उहाँले थप्नुभयो, "समाजवादको आधार तयार पार्ने उद्धेश्यले नै केही नयाँ काम सुरू गरेका छौं। सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतामा सरकार अगाडि बढिरहेको छ। मिटरब्याज पीडित किसानलाई न्याय दिइएको छ। यो निकै ठूलो काम हो। सरकारले विदेशमा रहेका लाखौं नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेको छ। यसले विदेशमा रहेका लाखौं नेपाली र उनीहरूका परिवारको भविष्य सुरक्षित गरेको छ। अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कार्यक्रम लागू गरिएको छ। नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा सरकारले जुन कदम थाल्यो, सुशासनका पक्षमा यति ठूलो अभियान कहिल्यै चलेको थिएन। यस्ता धेरै काम वर्तमान सरकारले गरिरहेको छ।"

"उत्पादन र रोजगारीको कार्ययोजना बनाइएको छ। अहिले ७ अर्ब छुट्याइएको छ। छिट्टै थप ७ अर्ब थपेर सिधै किसानको हातमा पैसा जाने गरी उत्पादन र रोजगारीलाई प्रवर्धन गर्छौं" प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले भन्नुभयो, "म सरकारमा आउँदा देश श्रीलंका बनिहाल्छ कि भन्ने थियो। अहिले त्यो अवस्था छैन। अर्थतन्त्रमा राम्रो सुधार आएको छ। तर, दवावमुक्त भइसकेको छैन। तिहारलगत्तै आर्थिक गोलमेच गर्ने तयारीमा छु।"

"सरकारले कूटनीतिक क्षेत्रका राम्रो पहल लिएको छ। भारत भ्रमणबाट सुरू भएको कुटनीतिक यात्रा संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणसम्म आइपुग्दा उत्कर्षमा पुगेको छ। नेपाल-भारतबीचको सीमा समस्या दीर्घकालीन रूपमा हल गर्ने प्रतिवद्धता भएको छ। २५ वर्षदेखि रोकिएको पञ्चेश्वर परियोजना अगाडि बढेको छ। १० वर्षमा १० हजार विजुली बेच्ने सम्झौता भएको छ। यी कुरा सामान्य छैनन्।" उहाँले भन्नुभयो।

"संयुक्त राष्ट्रसंघको महासभा, इटालीको रोम र चीन भ्रमणमा सरकारले जुन भूमिका खेलेको छ, जसरी प्रस्तुत भएको छ, यसले देशको शीर उच्च बनाएको छ। चीनसँग नाका खोल्ने सम्झदारी भएको छ। कृषि, पर्यटन र आर्थिक क्षेत्रमा चीन सरकारले पनि राम्रो सहयोग गर्नेछ" उहाँले भन्नुभयो, "चीनसँग कृषि र पशुपालनमा पाइलट प्रोजेक्टमा सम्झौता भएको छ। त्यसमध्ये एउटा पाइलट प्रोजेक्ट थवाङमा ल्याइनेछ।"

प्रधानमन्त्रीले भन्नुभयो, "सामाजिक सञ्जाल नियमनको कार्यविधि बनेको छ। हिजो क्याबिनेटबाट स्वीकृत भएको छ। यसबाट हामी अराजकता र छाडापन अन्त्य गर्नैपर्छ। सम्मानित मिडियाको विकास गर्ने सरकारको दृढता छ। हिजो क्याबिनेट बैठकले देशका ३ वटा रंगशालालाई राष्ट्रिय गौरवका आयोजनामा रूपान्तरण गरेका छौं। यी निकै महत्त्वपूर्ण निर्णय हुन्।"

प्रधानमन्त्रीले भन्नुभयो, "थवाङमा पछिल्लोसमय राम्रो विकास भएको छ। गणतन्त्रपछि राम्रो प्रगति भएको छ। भौतिक र मानवीय विकासमा यसले फड्को देखिएको छ। तपाईहरूले थवाङको थप विकासका लागि राख्नुभएका विषयमा गम्भीर छु। यसका लागि थप पहल गर्नेछु।"

सहिदमार्ग युद्धकालमा मैले नै प्रस्ताव गरेको थिएँ। यो मार्गको निर्माण कार्य छिटो सम्पन्न गरिनेछ। विद्युतीकरणका बाँकी काम पनि टुंगाइनेछ। नमुना परियोजनाको काम थवाङमा नै गरिनेछ। समग्रमा थवाङको विकास सरकारको मुख्य प्राथमिकतामा रहनेछ।"

कार्यक्रममा पूर्वमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन 'अनन्त'ले प्रधानमन्त्री एवं पार्टी अध्यक्षले पार्टीभित्र र देशमा रूपान्तरणको अभियान चलाएको बताउनु भयो। उहाँले भन्नुभयो, "पार्टीका अध्यक्ष कमरेड प्रचण्डलाई पनि देशका सात वटा वडामा जाने गरी कार्यविभाजन गरिएको थियो। त्यही योजनामा उहाँ आज थवाङ आउनुभएको छ। आफैमाथि प्रश्न उठाउने, आफैंलाई शुद्धीकरण गर्ने काम महत्त्वपूर्ण छ। माओत्सेतुङपछि पार्टीभित्र र देशमा शुद्धीकरण अभियान चलाउनेमा माओवादी पार्टी र अध्यक्ष प्रचण्ड नै हो। हामी समाजवादमा जाने कोसिस गरिरहेका छौं। सरकार र पार्टी दुवै ठाउँमा शुद्धीकरण अभियान चलाइरहेका छौं। देशमा भ्रष्टाचारविरोधी अभियान, पार्टीभित्र विशेष रूपान्तरण अभियान सिंगो राजनीतिक आन्दोलनको शुद्धीकरण पनि हो। यो निकै महत्त्वपूर्ण छ।"

रोल्पाको विकासबारे बोल्दै नेता पुनले भन्नुभयो, "रोल्पामा गुणात्मक विकास भएको छ। पहिला ५/६ गाविसमा बाटोले जोडेको थियो। अहिले ७१ वडामा नै मोटरबाटोले छोएको छ। पहिला १०/११ वडामा विजुली थियो, अहिले सबै वडामा पुगेको छ। गणतन्त्रअघि र गणतन्त्रपछिको विकासको तुलना गरेर हेरौं, २५० वर्षमा नभएको विकास गणतन्त्रको पछिल्लो १५ वर्षमा भएको छ। यो आजको तथ्य हो।"

सहिद मार्गमा निर्मित पक्की पुलको उद्घाटन

यसैबीच प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गणतन्त्रपछिका पछिल्ला १५ वर्षमा रोल्पा मुहार परिवर्तन हुँदै गएको बताउनु भयो।

शुक्रबार दिउँसो सहिद मार्गको थबाङ खोलामा निर्मित मोटरेवल पुलको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्र प्राप्तिको लडाइँमा अग्रणी योगदान गर्ने रोल्पा जिल्लालाई गणतान्त्रिक सरकारले विशेष महत्त्व दिएको बताउनु भयो।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, "गणतन्त्र प्राप्तिको आन्दोलनमा रोल्पा जिल्लाको धेरै ठूलो योगदान छ। महान जनयुद्धको आधार इलाकाका रूपमा यस जिल्लाको भूमिका अग्रणी छ। त्यसैले गणतन्त्रपछिका १५ वर्षमा रोल्पा जिल्लालाई केन्द्र सरकारले उच्च महत्त्व दिएको छ। विकासका कामहरू अगाडि बढेका छन्। जिल्लाको मुहार फेरिँदैछ।"

प्रधानमन्त्रीले भन्नुभयो, "तपाईंहरूले सहिद मार्ग सडक निर्माणको काम, कृषिका लागि सहयोग, उत्पादनमुलक नमुना कृषि प्रोजेक्ट लगायत जुन विषय उठाउनुभएको छ, ती महत्त्वपूर्ण छन्। त्यसलाई मैले गम्भीरतापूर्वक लिएको छु, पूरा गर्छु।"



रोल्पाको योगदानलाई इतिहासले बिर्सिन सक्दैन : प्रचण्ड

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालको राजनीतिक आन्दोलन र परिवर्तनमा रोल्पा जिल्लाले गरेको योगदानलाई इतिहासले बिर्सिन नसक्ने बताउनुभएको छ।

शुक्रबार दिउँसो रोल्पाको सदरमुकाम लिवाङमा जनतासँग माओवादी - विशेष रुपान्तरण अभियानका क्रममा नेकपा (माओवादी केन्द्र) रोल्पाले आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनवादी क्रान्तिमा रोल्पा जिल्लाले खेलेको भूमिका अग्रणी रहेको बताउनुभएको हो।

प्रधानमन्त्रीले भन्नुभयो, "रोल्पा क्रान्तिको आधार इलाका हो, परिवर्तनको महत्त्वपूर्ण आधार हो। इतिहास, त्याग र बलिदानको प्रतीक हो। शान्ति र निर्माणको पनि प्रतीक हो। नेपालको क्रान्तिकारी आन्दोलन र गणतन्त्रको स्थापनामा रोल्पा जिल्लाको धेरै ठूलो योगदान छ। यो योगदानलाई इतिहासले बिर्सिन सक्दैन।"

"गणतन्त्रपछि रोल्पाको विकास गुणात्मक छ। सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, बिजुली लगायतका क्षेत्रमा राम्रो प्रगति भएको छ। तर यो पर्याप्त छैन" प्रधानमन्त्रीले भन्नुभयो, "मेरो नेतृत्वमा गठन भएको वर्तमान सरकार सुशासन, विकास र सुशासनको लक्ष्यसहित अगाडि बढेको छ। तपाईहरूले सुन्नुभएकै होला, थुप्रै भ्रष्टाचारीहरू जेलमा छन्, भूमाफियाहरूमाथि कार्वाही थालिएको छ। जनताको आशा र विश्वासको वातावरण बन्दै गएको छ।"

सो जनसभामा नेकपा (माओवादी केन्द्र) उपमहासचिव वर्षमान पुन, सचिव हितमान शाक्य लगायतका नेताहरूले सरकारको भ्रष्टाचारविरोधी अभियानमा पार्टी पूर्ण साथ रहेको र यो अभियान अझै उचाइका साथ अगाडि बढ्ने बताउनुभयो।

जनशक्ति आपूर्तिमा सहयोग गर्छु

जनसभालाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री प्रचण्डले लिबाङमा निर्मित ५० शय्याको अस्पताल भवनको उद्घाटन गर्नुभयो।

उद्घाटन समारोहमा प्रधानमन्त्रीले भन्नुभयो, "रोल्पामा विकासका काम एकपछि अर्को अघि बढ्दैछन्। आज ५० शय्याको अस्पतालको उद्घाटन भएको छ। सेवा बिस्तारपछि अस्पतालले थप सरल, सहज र गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास लिएको छु। अस्पतालका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीको व्यवस्था सरकारले गर्नेछ।

सो अवसरमा प्रधानमन्त्रीले सम्पूर्ण राजनीतिक दल र नागरिक मिलेर मुलुकलाई विकास र समृद्धिको दिशामा लैजानुपर्ने बताउँदै सरकारले त्यसको नेतृत्व गरिरहेको प्रष्टाउनुभयो।


 

गणतन्त्र उल्टाउने सपना नदेख्दा हुन्छ, प्रतिगामी षड्यन्त्र परास्त गर्छौं: प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्याय उल्टाएर देशमा अस्थिरता गर्ने कोसिस भइरहेको बताउँदै उक्त षड्यन्त्र असफल पारिने बताउनु भएको छ।

बिहीबार बुटवलमा आयोजित पार्टीको प्रदेशस्तरीय स्कुलिङ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्रको रक्षा र सुदृढीकरणका निम्ति दृढताका साथ अगाडि बढ्ने बताउनु भएको ह‍ो।

प्रचण्डले भन्नुभयो, "परिवर्तनका मुद्दा उल्टाएर देशलाई द्वन्द्वमा फसाउने भयानक षड्यन्त्र हुँदैछ। त्यसमा सबैखाले प्रतिक्रियावादी शक्तिको साँठगाँठ छ। तर, हामी परिवर्तनको रक्षाका निम्ति १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधान निर्माणका पक्षधर सबै शक्तिहरू एक ठाउँमा उभिएर जवाफ दिनेछौं।"

पार्टी स्कुल कार्यक्रममा अध्यक्षले भन्नुभयो, "हिजो अध्ययन, अनुसन्धान र नयाँ विषयको खोजीमा हामी सबैको रूचि थिय‍ो, त्यसले हामीलाई बाटो देखाउँथ्यो, बदलिएको परिस्थितिअनुसार अगाडि बढ्न उत्प्रेरित पनि गर्थ्यो। तर आजभोलि दार्शनिक सैद्धान्तिक चिन्तन कमजोर हुँदै गएको छ। विचारको पक्षमा चिन्तन, मनन कमजोर भएको छ। त्यसको प्रत्यक्ष फाइदा व्यवस्थाविरोधीहरूले उठाउन ख‍ोज्दैछन्। तसर्थ, विकसित परिस्थितिअनुरूप नयाँ विचारको विकासमा हामीले जोड दिनुपर्छ।"

"पार्टी विभाजित हुँदा पनि हामी कमजोर भयौं, प्रतिक्रान्तिहरूको मनोबल उठ्न थाल्यो। त्यसलाई चिर्न हामी रूपान्तरणका साथ अगाडि बढ्नुको बिकल्प छैन। रूपान्तरण नेताहरूबाट हुनुपर्छ, अरूलाई उपदेश दिएर हुँदैन" उहाँले भन्नुभयो, "गणतन्त्र, संघीयताको रक्षा हामीले मात्रै गर्न सक्छौं, अरूलाई खास चासो पनि छैन, उनीहरूको एजेन्डा पनि होइन। माओवादी कमजोर भए संविधान मात्रै विघटन हुँदैन, देश नै विघटनको खतरा रहन्छ। पछिल्लोसमय धरान, नेपालगञ्ज, सर्लाही लगायतका स्थानमा जे प्रयत्न गरियो, त्यो सामान्य छैन। गणतन्त्र नै उल्टाएपछि संघीयता पनि रहँदैन, त्यसपछि देश नै टुक्राउन सकिन्छ भन्ने गम्भीर षड्यन्त्र छ। यो कुरा हामीले जनतालाई बुझाउनु पर्छ। परिवर्तनका पक्षधर सबै राजनीतिक शक्ति एक ठाउँ उभिएर प्रतिगामी षड्यन्त्र परास्त गर्छौं, राजनीतिक दलहरूबीच यसबारे छलफल चलिरहेको छ। केही दिनमा बैठक बसेर ठोस समीक्षासहित अगाडि बढ्छौं।"

उहाँले भन्नुभयो, "भूराजनीतिक दृष्टिले विश्वका महाशक्तिको दवावमा हामी छौं। हाम्रा कारणले होइन महाशक्ति राष्ट्रहरूको शक्ति संघर्षको चेपुवामा हामी पर्नसक्ने खतरा छ। रूस-युक्रेन, इजरायल-हमास युद्ध र विश्वव्यापी परिघटना हेर्दा परिस्थिति ध्रुवीकरणतर्फ गएको छ। तसर्थ, नेपालले सन्तुलित र परिपक्व कुटनीतिक बाटो लिनुपर्छ। त्यसमा सरकारले सकारात्मक पहल लिएको छ। संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणसम्म आइपुग्दा हाम्रो पहल उत्कर्षमा पुगेको छ।"

अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, "कम्युनिस्टहरूले बाँचुञ्जेल परीक्षा दिनुपर्छ। म पनि परीक्षामा छु, तपाईहरू पनि परीक्षामा हुनुहुन्छ। यसपटक सरकारले निकै विवेक र दृढताका साथ कदम चालेको छ। भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहमा सुधार, भूमाफियाहरूलाई कार्वाही, कुटनीतिक सन्तुलन लगायतका जति काम गरिएको छ, तिनीहरूको रणनीतिक महत्त्व छ। अहिले नै उत्पात, चमत्कार गर्न सकिँदैनथ्यो। हामी गठबन्धनमा छौं, त्यसका सीमा र जटिलताहरू पनि छन्।"