संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

विशेष रुपान्तरण अभियान समीक्षा, कर्णालीमा बदलिदै छ माओवादी

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले कर्णालीलाई आफ्नो आधार इलाकाका रुपमा थप विस्तार गर्न सकिएको निष्कर्ष निकालेको छ।

सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले कर्णालीलाई आफ्नो आधार इलाकाका रुपमा थप विस्तार गर्न सकिएको निष्कर्ष निकालेको छ। ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत अहिलेसम्मको प्रगति समीक्षा अनुसार यो अवधिसम्म अभियानले पार्टी रुपान्तरणमा ठूलो प्रगति हासिल गरेको नेताहरुको विश्लेषण छ। गत मंसिर ३ मा सुर्खेतमा सम्पन्न कर्णाली प्रदेशको सचिवालय समिति बैठकले यस्तो निष्कर्ष निकालेको हो।

जनताको बीचमा रहेर १० बर्षे जनयुद्ध लडेको माओवादी शान्ति प्रक्रियासँगै शहर पसेपछि जनता भुलेको कुरा अभियानका क्रममा जनताले सुनाएको पनि नेताहरुको भनाइ छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष पेश गरिएको भदौ र असोज महिनाको रिपोर्ट अनुसार प्रदेशका १० वटै जिल्लामा अभियान प्रभावकारी रुपमा चलेको छ। 
 
दुई महिना (भदौ र असोज) को अवधिमा प्रदेशभर करिब एक हजार ७ सयभन्दा बढी व्यक्तिहरु अन्य पार्टी परित्याग गरेर माओवादीमा प्रवेश गरेका छन्। जस अन्तर्गत यसअघि सबैभन्दा कमजोर रहेको दैलेखमा माओवादी फैलिएको छ। 

दैलेखमा ८१६ जनाले विभिन्न पार्टी त्याग गरेर माओवादी रोजेका छन्। उत्तिकै मात्रामा यहाँ पार्टीको सदस्यता लिने नयाँ संख्या पनि बढेको छ। यो अवधिसम्म यहाँ ८१५ जनालाई नयाँ सदस्यता वितरण गरिएको छ। यहाँ १९ हजार ६०६ वटा घरदैलोमा अभियान पुगेको छ। अभियानका दैलेख इञ्चार्ज गोपाल शर्माका अनुसार ५८ वटा जनभेला भएका छन् भने १५३ वटा बैठक, ९७ वटा सेल तथा टोल कमिटी निर्माण, ५१ जना घाइते अपाङ्गता भएका व्यक्तिसँग भेटघाट कार्यक्रम भएको छ भने २०१ जना सहिद परिवारसँग भेट गरिएको छ। यस्तै ४८५ सदस्यता नवीकरण गरिएको छ। ११ वटा जनसेवा तथा जनश्रमदानका कार्यहरु भएका छन्। 

दैलेख यस्तो ठाउँ हो, जहाँ युद्धताका माओवादी विरुद्ध प्रतिकार भएको थियो। त्यसका कारण पनि कर्णालीमा माओवादीको जनाधार सबैभन्दा कमजोर दैलेखमा थियो। अभियान सुरु भएयता दैलेखमा माओवादी तिव्र गतिमा फैलिरहेको इञ्चार्ज शर्मा बताउनु हुन्छ। 

पार्टी प्रवेश गर्ने संख्या अरु जिल्लाभन्दा सबैभन्दा दैलेखकै बढी हो। भदौ र असोजको तथ्याङ्कका आधारमा जुम्लामा करिब ३० जना मात्रै प्रवेश गर्दा डोल्पामा १५४, रुकुम पश्चिममा ४३, जाजरकोटमा २५१, सल्यानमा ४८, सुर्खेतमा ११३, हुम्लामा ७४, कालिकोटमा ११४ र मुगुमा ५३ जनाले अन्य पार्टी त्याग गरेर माओवादी रोजेका छन्। कार्तिक र मंसिरमा पार्टी प्रवेश गर्नेहरुको संख्या थप भएको पार्टीले जनाएको छ।

कुन जिल्लामा के–के गतिविधि भए? 

माओवादी आधार इलाकाका रुपमा रहेको रुकुम पश्चिममा ६ पटक पालिका समितिका बैठक बसेका छन् भने २९५ टोल कमिटीका बैठक भएका छन्। १४० वटा जनवर्गीय संगठनका बैठक, ९ हजार ४१ घरधुरीको फारम भरिएको छ भने ४१ वटा जनसेवा तथा जनश्रमका कामहरु भएका छन्। ४५० वटा सेल कमिटी बैठक हुँदा ३ हजार ६२४ वटा पार्टी सदस्यता नवीकरण गरिएको छ। यस्तै अभियानका क्रममा ३२ हजार ९७४ जनसंख्यामाझ भेटघाट गरिएको छ। रुकुम कर्णालीको मात्र नभई देशैभरिको अत्याधिक बलियो जनमत रहेको जिल्ला रहेको माओवादी केन्द्र रुकुम पश्चिमको दाबी छ। 

जाजरकोटमा १४९ वटा टोल तथा सेल कमिटी बैठकहरु बसेका छन् भने २९५ टोल कमिटी बैठक, ३१ वटा जनवर्गीय मोर्चाहरु गठन, २२ वटा जनसेवा तथा जनश्रमदानका कार्य भएका छन्। यस्तै पालिकाहरुमा जनपक्षीय कार्यका लागि ज्ञापन पत्र बुझाउनेदेखि १०९ वटा नयाँ आवेदकहरुको संख्या १०९ रहेको छ। ७८४ पार्टी सदस्यता नवीकरण भएको छ भने २१ हजार जनसंख्यालाई प्रत्यक्ष भेटघाट गरिएको अभियानको जाजरकोट इञ्चार्ज वसन्त शर्मा बताउनु हुन्छ। 

अन्य जिल्लाभन्दा फरक तरिकाले अभियान चलेको जिल्ला हो, सल्यान। यहाँ अभियानका इञ्चार्ज नरेश भण्डारीले क्यालेण्डर निर्माण गरेर अभियान चलाउनु भएको छ। 

माओवादी रुपान्तरण अभियानः अरुलाई सिकाइ हुन सक्छ सल्यानी मोडेल

कमजोर संगठन रहेको सुर्खेतमा १० हजार ४५० वटा घरमा अभियान पुगेको छ भने १३४ वटा जनभेला गरिएका छन्। १६८ टोल तथा सेल कमिटी निर्माण भएका छन् भने १६३ सहिद परिवार भेटघाट, १७३ घाइते योद्धाहरुसँग भेटघाट कार्यक्रमहरु भएका छन्। ११ पटक रक्तदान, जनश्रम र जनसेवाका कामहरु भएको रिपोर्ट जिल्ला कमिटीले प्रदेशलाई बुझाएको छ। 

कालिकोटमा २ हजार १८० सहिद, वेपत्ता, घाइते परिवारहरुलाई भेटघाट गरिएको छ भने ३४ वटा जनसेवा तथा जनश्रमदानका गतिविधिहरु भएका छन्। ६ हजार ७४७ पार्टी सदस्यता नवीकरण तथा ७ हजारभन्दा बढी जनसंख्यामा अभियान पुगेको छ। यहाँ १ हजार ५४९ नयाँ सदस्य थपिएका छन्। मुगु, सल्यान, हुम्ला, जुम्लाको सबै तथ्यांक भने उल्लेख भएको छैन। यद्यपि यी जिल्लाहरुमा पनि अन्य जिल्लाजस्तै अभियान प्रभावकारी रुपमा सञ्चालन भइरहेको माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसी बताउनु हुन्छ। 

केसीका अनुसार अभियानअन्तर्गत विभिन्न ठाउँहरुमा गोरेटो बाटोहरु निर्माण भएका छन् भने पुलहरु, आर्थिक अभाव भएकाहरुको घर मर्मतजस्ता कार्यहरु पनि अभियानका क्रममा भएका छन्। ‘जनसेवा र सार्वजनिक निर्माणको कार्यक्रममार्फत् विकास निर्माणका काम हुनु र अति विपन्न परिवारको घर मर्मतजस्ता कार्य गर्नुले माओवादी वास्तविक जनताको पार्टीका रुपमा स्थापित हुँदै गएको छ,’ अध्यक्ष केसीले भन्नुभयो, ‘यो क्रम अब निरन्तर चल्ने छ।’ 

प्रदेशमा पार्टी सदस्यता नवीकरण, नयाँ सदस्यता थप गर्ने, नयाँ सदस्यताको लागि आवेदन भर्ने, साधारण सदस्यता वितरणको काम, पार्टी कमिटी पुनर्गठन, जवज÷मोर्चाका संगठन विस्तार लगायतका संगठनात्मक कामहरु तिव्र गतिमा सञ्चालन भइरहेको केसी बताउनु हुन्छ। साथै अभियानका क्रममा पार्टीको विचार, राजनीतिक छलफल र बहसका साथै सरकारले गरेका राम्रा कामहरुको प्रचार गर्ने काम भएको छ भने पार्टी भित्रका अन्तरविरोधहरु पहिचान हुँदै गएका छन्।
 
पार्टी उपमहासचिव एवं कर्णाली प्रदेश इञ्चार्ज मातृका प्रसाद यादवले कर्णालीमा माओवादी बलियो रहेको र अभियानले अझ सुदृढ बन्दै गएको बताउनु भयो। ‘लामो समयदेखि पार्टी पूर्ण रुपमा चलायमान हुन नसकेका कारण गतिहीनता, कार्यकर्तामा निरासा, पलायन, जनतामा पार्टीप्रति अविश्वास बढ्दै गइरहेको थियो,’ यादवले भन्नुभयो, ‘अभियानले यो अवस्थाको अन्त्य गर्ने विश्वास आम नेता, कार्यकर्ता र जनतामा पैदा भएको छ।’ 

यादवको बुझाइमा माओवादीहरु जनताका सेवक हौँ भन्ने सन्देशसहित आम जनतालाई संगठित गर्ने, नयाँ भर्ना गर्ने, सबैलाई संगठित गर्ने अहिलेको जिम्मेवारी हो। तराई मधेशमा लामो समय बसेका यादव उच्च पहाडी र हिमाली क्षेत्रको बाहुल्य रहेको कर्णाली पुग्दा नयाँ अनुभूति भएको बताउनु हुन्छ। उहाँ भन्नुहुन्छ, ‘उत्पादनको क्षेत्र होस्, विकास निर्माणमा माओवादी स्थापित हुन्छ, त्यो खालको आधार पनि छ। कर्णालीको बसाइले नै मैले त्यो खालको अनुभूति गरेको छु।’

‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ नाराले हरेक समुदायमा एक खालको उभार ल्याएको जिल्लाका इञ्चार्जहरुको अनुभूति रहेको छ। अभियानको क्रममा चौतारा निर्माण, काठे पुल निर्माण, विद्यालयका फिल्ड निर्माणदेखि विपन्नका घरहरु मर्मत कार्यमा नेता, कार्यकर्ताहरु सक्रिय हुनुले जनताको माओवादीप्रति हेर्ने दृष्टिकोणमा समेत फरकपना आएको नेताहरु बताउनु हुन्छ।