संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

देश र जनताका लागि सामाजिक न्याय, सुशासन र समृद्धि

हाम्रो पार्टी र पार्टीको नेतृत्वमा रहेको सरकारको कार्यक्षेत्र हाम्रो देश नेपाल र नेपाली जनता हुन्। यसर्थ हाम्रो उद्देश्य सरकारले अघि सारेको देश र जनताका लागि “सामाजिक न्याय, सुशासन र समृद्धि”द्वारा समाजवादको आधार तयार पार्ने हुनु पर्दछ।

यतिबेला हाम्रो देशको मूल एजेण्डा संविधानको कार्यान्वयन, सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्दै समाजवादको आधार तयार पार्नु हो। हामीमाथि इतिहास र जनक्रान्तिले सुम्पेको यो दायित्व सम्पन्न गर्ने क्रममा हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्ड नेतृत्वको वर्तमान सरकार दृढतापूर्वक लागि परेको छ।

संविधान सभाबाट जारी संविधानमा सशस्त्र द्वन्द र जनआन्दोलनबाट प्राप्त प्रमुख उपलब्धिहरुलाई संस्थागत गरिएको छ र समाजवादको आधार तयार पार्ने विषय स्पष्ट छ। अतः यही संविधानमा टेकेर समाजवादमा अघि बढ्नु आजको हाम्रो कर्तव्य हो। विभिन्न वर्ग, क्षेत्र, लिङ्ग, जातजाति, भाषाभाषी एवं धर्म संस्कृतिका जनसमुदायको परिवर्तनको आकांक्षा र समयको आवश्यकतालाई बुझ्न र सही सम्बोधन गर्न सक्नुमा हाम्रो अहिलेको क्षमता अभिव्यक्त हुन्छ। यही नै नयाँ संविधानले चाहेको मर्म र नयाँ नेपालको सार पनि हो।

यतिबेला संविधान जारी भएर देशमा तीन वटै तहका दुई दुई पटक निर्वाचन सम्पन्न भएका छन्। शान्ति प्रक्रियाका केही काममात्र बाँकी छन् । विगतका सबै क्रान्ति वा जनआन्दोलनका शक्तिहरु वा वर्तमान नयाँ नेपाल निर्माणका सबै सहभागी शक्तिहरु समाजवाद निर्माणको महान वहसमा जुटिरहेको बेला केही स्वार्थी तत्वहरु नाजायज फाइदा उठाउन र प्रतिगमनका लागि कुचेष्ठा पनि गरिरहेका छन्। तर नेपालमा प्रतिगमन सम्भव छैन।

नेपालमा लामो समयको राजनीतिक आन्दोलन र संक्रमणकालीन अवस्थाका कारण संविधान निर्माणपछि राजनीतिक स्थिरताको अवस्था कायम राख्न केही जटिल त हुन्छ नै। यस्तो बेला परिवर्तनकारी दलहरु बीचमा राजनीतिक, सामाजिक अन्तरविरोधहरुको समाधान गर्न एकताको जरुरत हुन्छ। त्यसमा पनि १२ बुँदे समझदारी, बृहत शान्ति सम्झौता र संविधानको निर्माणकर्ता राजनीतिक दलहरु विद्यमान संविधानले निर्दिष्ट गरेको व्यवस्था र कानुनको पालना गर्न, गराउन लागि पर्नु मूल कर्तव्य हो। दण्डहीनताको अन्त्य र विधिको शासनको स्थापनाको मूल मर्म पनि यही हो।

नेपाली जनताको जिउधनको सुरक्षा गर्नु राज्यको र सरकारको पहिलो दायित्व हो भने सुरक्षित वातावरणमा रहन, बाँच्न वा जीविकोपार्जन गर्न पाउनु जनताको मौलिक हक पनि हो। वर्तमान अवस्थामा देशभित्र देखिएको शान्ति सुरक्षामा देखिएका कमी कमजोरीहरुलाई हटाएर आम जनतालाई सुरक्षाको अनुभूति गराउनु सरकारको प्राथमिक कार्यभार हो। यसका लागि सरोकारवालाहरुसँग बृहत परामर्श र सहकार्य गरी राष्ट्रिय सुरक्षा नीति र आन्तरिक सुरक्षा रणनीति तर्जुमा गर्नु जरुरी छ। 

जनता सार्वभौम र सर्वोपरी हुन्। जनताको चाहना विपरित कुनै पनि सरकार अगाडि बढ्न सक्दैन र जनतालाई केन्द्रविन्दु नबनाई लागू गरिएको योजना, नीति र कार्यक्रमहरु सफल हुँदैनन् भन्ने तथ्यलाई विशेष ध्यान दिनु पर्छ। राज्यले प्रवाह गर्ने सार्वजनिक सेवाहरु जनता केन्द्रित हुनु पर्दछ र सेवा प्रवाहको क्रममा भएका कार्यहरु पारदर्शी पनि हुनु पर्छ। सेवा प्रवाह गर्ने कार्यमा खटिएका कर्मचारीले अधिकारको प्रयोग मात्र होइन, जवाफदेहिता वहन गर्न पनि त्यत्तिकै जरुरी छ। तसर्थ जनता माझ पु-याउने सेवा प्रवाहलाई छिटो छरितो र प्रभावकारी बनाउन सेवा प्रवाह सम्बन्धी कार्यविधिहरु तर्जुमा गर्दै जाने नीति लिइनु पर्दछ। सरकारले भ्रष्टाचार नियन्त्रणका लागि चालेका कदम सह्रानीय छन्। यसमा सबै सरोकारवालाहरुको सहयोग हुनु पर्दछ।

संविधान र कानुनको कार्यान्वयनको काम आम जनताको सहयोग र समर्थन विना सम्भव हुँदैन। त्यसैले नागरिकहरुलाई बर्दी विनाको प्रहरी भनी महत्वका साथ भन्ने गरिन्छ। कार्यसम्पादनको क्रममा साधन र स्रोतको अभाव हुन सक्छ। हाम्रो जस्तो मुलुकमा चाहे जति वा मागे जति साधन र स्रोतको विन्यास सम्भव नहुनु पनि स्वाभाविकै हो। यस्तो स्थितिमा जनतासँगको सहकार्यमा सीमित श्रोतबाट अधिकतम उपलब्धि हासिल गर्ने गरी कार्य नगरी सुख्खै छैन। यसर्थ सुन्दर, शान्त एवं समृद्ध नेपालको हाम्रो सपना साकार पार्न “सबल राष्ट्रिय एकताको लागि सुदृढ जनसम्बन्ध र प्रभावकारी जनसुरक्षा” हाम्रो परिकल्पना हुनु पर्दछ।

राज्यद्वारा राष्ट्रिय अखण्डता, सार्वभौमिकता, एकता तथा स्वाधीनतालाई केन्द्रविन्दु मान्दै र छिमेकी मुलुकहरुको अखण्डता र सार्वभौमिकतालाई सम्मान गर्दै नेपालको कुनै पनि भू–भागमा कुनै पनि मित्रराष्ट्रका विरुद्ध कुनै पनि प्रकारका गतिविधि गर्न दिइनु हुँदैन। साथै प्रेस स्वतन्त्रता लोकतन्त्रको गहना हो। राज्यले गरेका असल कामहरुबारे जनतालाई सुसूचित गर्ने र गलत कार्यहरु प्रति खबरदारी गर्न प्रेसको अहम् भूमिका हुन्छ।

सबैलाई ज्ञान नै छ कि एउटा विशिष्ट राजनीतिक परिस्थितिमा तत्कालीन राज्यसत्ताको विरुद्धमा १० वर्षे जनयुद्ध सञ्चालन भएको थियो। जनयुद्धको क्रममा भएका सुरक्षा कारवाहीहरु स्वभाविक नै थिए। तापनि त्यस कालखण्डमा घटेका कुनै घटना वा कारवाहीलाई आधार मानेर माओवादीले कसैप्रति पनि पूर्वाग्रह नराख्ने र राष्ट्रसेवक सुरक्षाकर्मीहरुले पनि आग्रह पूर्वाग्रह राख्नु हुँदैन। हामी सबैले नयाँ परिवर्तन र संविधानलाई आत्मसात गरिरहेका छौं। तसर्थ हिजोका युद्धरत दुई पक्षबीच कुनै पनि किसिमको मनोवैज्ञानिक दूरी रहन आवश्यक छैन।

अहिलेको खुला, पारदर्शी र लोकतान्त्रिक अवस्थाको नाजायज फाइदा उठाउन चाहने, नियम कानुनको अवज्ञा गर्ने, समाजमा अराजकता सिर्जना गर्ने वा अपराध गर्ने पक्ष पनि देखिएका छन्। तिनले अन्त्य भइसकेको राजतन्त्र फर्काउने दुषित सपना देख्न थालेका छन्। यस्ता तत्वसँग सरकार झुक्नु हुँदैन। नेपालको इतिहासमा मरिसकेको राजतन्त्र ब्यूँतिने कुनै सम्भावना छैन।

हाम्रो पार्टी र पार्टीको नेतृत्वमा रहेको सरकारको कार्यक्षेत्र हाम्रो देश नेपाल र नेपाली जनता हुन्। यसर्थ हाम्रो उद्देश्य सरकारले अघि सारेको देश र जनताका लागि “सामाजिक न्याय, सुशासन र समृद्धि”द्वारा समाजवादको आधार तयार पार्ने हुनु पर्दछ। हामी इमान्दार, सक्षम र उच्च मनोबलयुक्त भएर मात्र सामाजिक न्याय, सुशासन र समृद्धि दिन सक्ने छौं। समग्र देशको हित र विकास गर्न सक्यौँ तथा देशवासीहरुको जीवनस्तर माथि उठाउन सक्यौँ भने हामी सबैको हित र विकास स्वतः हुन जाने तथ्यलाई हामीले मनन गर्नु पर्दछ। इमान्दार भएर मात्र कर्तव्यनिष्ठ हुन सकिन्छ। इमान्दार, सक्षम र उच्च मनोबलयुक्त व्यक्ति मात्र प्रभावकारी बन्न सक्छ। गल्ती नगरौं र गल्ती गर्नेबाट पनि नडराऊ । “नबिराऊ र नडराऊ” हाम्रो आदर्श हुनु पर्दछ।

हाम्रा एक मात्र केन्द्र देश र नेपाली जनता हुन्। यो देश हामी सबैको हो। देशमा हाम्रो पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले अघि सारेको सामाजिक न्याय, सुशासन र समृद्धि हासिल गर्न सक्यौँ भने हाम्रा सम्भावनाका सबै ढोका खुल्नेछन्।