संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

मधेश प्रदेशमा पार्टी प्रशिक्षणः देशका लागि माओवादी रुपान्तरण हुनुपर्छ : अध्यक्ष प्रचण्ड

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका कार्यकर्ताको रुपान्तरणको सवाल मुलुकको समृद्धि र परिवर्तनसँग गाँसिएको बताउनु भएको छ।

महोत्तरी, मंसिर १९ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका कार्यकर्ताको रुपान्तरणको सवाल मुलुकको समृद्धि र परिवर्तनसँग गाँसिएको बताउनु भएको छ। 

महोत्तरीको गौशालामा मंगलबार (मंसिर १९ गते) आयोजित पार्टीको विशेष रुपान्तरण अभियानको मधेस प्रदेशस्तरीय समीक्षा बैठक तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले पार्टीका नेता कार्यकर्ता रुपान्तरित भएमात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्र सबल हुने बताउनु भयो।

“मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विगुल नेकपा माओवादीले फुकेको हो”, अध्यक्ष प्रचण्डले नेता तथा कार्यकर्तालाई प्रेरित गर्दै भन्नुभयो, “यसको स्थायित्व र सबलीकरणको नेतृत्व पनि हामीले नै गर्नुपर्छ।” 

आफ्नो स्वार्थभन्दा माथि उठेर काम गर्न निर्देशन दिदै उहाँले भन्नुभयो, “हामीमाथि मुलुकको बृहत् कार्यभार छ, हामीले आफ्नो चरित्र बिगार्नु हुँदैन, गलत बाटोमा लागेको भए तत्काल सच्चिनु पर्छ”, प्रचण्डले भन्नुभयो, “गलत बाटोमा भए सच्याउनु, रुपान्तरित हुनु अभियानको अभीष्ट हो।’’ अभियानका क्रममा जनसरोकारका मुद्दा पार्टीका नेता कार्यकर्ताले उठाउन र उजागर गर्न उहाँले अपिल गर्नुभयो। अभियानमा जोडिएका सबै नेता कार्यकर्ताको मूल्याङ्कन पार्टी नेतृत्वले गरिरहेको उहाँले बताउनु भयो।

पार्टी अध्यक्षकै नेतृत्वमा सरकार भएकाले अहिलेको सरकारले गरेका कामहरुलाई जनतामाझ लैजान प्रधानमन्त्री प्रचण्डले कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो।

“सरकारको तर्फबाट जनपक्षीय कामहरु थुप्रै भएका छन्,” प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डले भन्नुभयो, “विद्युत् व्यापारदेखि बन्दरगाहसम्मका सम्झौताहरु भएका छन्। भारत, चीन, संयुक्त राष्ट्र संघको महासभादेखि अहिले कोप २८ को सम्मेलनसम्म आउँदा अन्तर्राष्ट्रिय स्तरमा नेपालको राम्रो पहिचान विस्तार भएको छ, नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा नेतृत्व गर्ने क्षमता देखाउने अवसर प्राप्त भएको छ। यो बीचमा थुप्रै सम्झौता, समझदारीहरुले सम्बन्ध नयाँ उँचाइमा उठेको छ।” 

चीन भ्रमणले कृषि र प्रविधिको क्षेत्रमा सहयोगको ढोका खुलेको बताउँदै थुप्रै सम्झौता भएको र उत्तरी नाकाहरु पनि क्रमशः खुल्दै गएकोले यसले राम्रो परिस्थिति बनेको बताउनु भयो। उहाँले भन्नुभयो, “त्यसकारण तपाई हामीले सबैले यो कुरा गहिरो गरी आफूले बुझ्ने अनि जनतामा पु-याउने ग-यो भने एउटा लहर फेरि माओवादीको पक्षमा आउनै पर्छ र ल्याउनै पर्छ। माओवादी पार्टी अरु जस्तो होइन। यो कुरा हामीले सावित गरेर देखाउनु छ।” 

एनसेलको किनबेचबारे सरकारलाई कुनै पनि जानकारी भन्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रलाई ठग्न खोज्ने ठगहरुलाई कुनै छुट नदिने बताउनु भयो। “एनसेलको किनबेचका विषयमा दूरसञ्चार प्राधिकरणलाई कुनै जानकारीमा छैन। जसको जानकारी र स्वीकृति अनिवार्य हुन्छ। हाम्रो कर विभागलाई पनि जानकारी छैन। नेपाल सरकारलाई पनि जानकारी छैन। ऐन, कानुन, विधि विधान विपरित बेचिएको सुनेपछि मैले तत्काल छानविन गर्न निर्देशन दिइसकेको छु। यसलाई यसरी जान दिइदैन। राष्ट्रलाई ठग्न चाहने कुनै ठगहरुलाई छुट दिन सकिदैन।”

संघीय लोकतान्त्रिक गणतन्त्रभन्दा उत्कृष्ट व्यवस्था अरु नभएको भन्दै उहाँले यसको रक्षाका लागि सबै एक भएर जानुपर्ने बताउनु भयो। तथाकथित राजावादी, साम्प्रदायिक तत्वहरुको भविष्य नभएको र लोकतान्त्रिक गणतन्त्र र समाजवादको मात्रै भविष्य रहेको उहाँले बताउनु भयो। 

मधेस प्रदेश इन्चार्ज लिलामणि पोखरेलको अध्यक्षतामा सम्पन्न अभियानको समीक्षा बैठक तथा प्रशिक्षण कार्यक्रममा मधेस प्रदेशका सबै केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी तथा सदस्य, विशेष रुपान्तरण अभियानका जिल्ला संयोजक र सम्बद्ध सदस्यहरुको सहभागिता थियो।