संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

सामन्ती पश्चगामी अराजकताले गणतान्त्रिक व्यवस्थाको जग हल्लिदैन– महासचिव गुरुङ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले पश्चगामी शक्तिहरुको अराजकताले गणतान्त्रिक व्यवस्थालाई हल्लाउन नसक्ने बताउनु भएको छ।

सल्यान, १५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले पश्चगामी शक्तिहरुको अराजकताले गणतान्त्रिक व्यवस्थालाई हल्लाउन नसक्ने बताउनु भएको छ। जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको क्रममा सल्यानको बनगाड कुपिन्डे नगरपालिकाको सल्लीबजारमा आयोजित सङ्कप सभालाई सम्बोधन गर्दै महासचिव गुरुङले यस्तो बताउनु भएको हो।

सामन्ती राजतन्त्र फर्काउँछौं भन्ने वा धर्मका नाममा सडकमा अराजकता फैलाउनेहरुको हैसियत देखिएको चर्चा गर्दै पार्टी महासचिव गुरुङले दुई चार दिन सडकमा उफ्रिदैमा नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धि नगुम्ने बताउनु भयो। नेपाली जनताको त्याग, समर्पण र सहिदहरुको बलिदानले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रसहित अहिलेका सबै उपलब्धिहरु प्राप्त भएको चर्चा गर्दै महासचिव गुरुङले जनताको बोल्न पाउने अधिकार सुनिश्चित गरेको माओवादी जनयुद्धको कारणले भएको बताउनु भयो। 

राजनीतिक अधिकार र उपलब्धि प्राप्त भए पनि आम जनताको अभाव, गरिबी हटाउन नसकिएको भन्दै महासचिव गुरुङले भन्नुभयो, ‘हामीले अझैँ पनि सबै नेपाली जनतालाई रोजगार, गाँस, बास, कपासको सहज व्यवस्था गर्न सकिरहेका छैनौं। गरिबी, अभाव र आर्थिक रुपमा समस्या कायमै छन्। त्यसका लागि हामीले अझैँ समाजवादी क्रान्तिको यात्रामा अघि बढ्न बाँकी नै छ। हामीले सम्पूर्ण जनताको गाँस, बास, कपासको ग्यारेन्टी गर्न समाजवादी क्रान्तिमा जानै पर्नेछ। यही देशमा रोजीरोटी, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीको लागि हामी अघि बढ्नैपर्छ।’

समाजवाद क्रान्तिमा नगएसम्म समाजमा रहेका आर्थिक सामाजिक रुपान्तरणका समस्या, विकृति, विसंगतिसँग लड्न नसकिने भन्दै उहाँले अहिलेसम्म प्राप्त उपलब्धिको रक्षा गर्दै संविधानमा उल्लेख गरिएको समाजवाद उन्मुख बाटोमा बढ्नुपर्नेमा जोड दिनुभयो।

संविधान सभाबाट निर्माण गरिएको संविधान, गणतन्त्र, संघीयता, समानुपातिक, समावेशी पद्धति सबै माओवादीको नेतृत्वमा मात्रै नेपालमा सम्भव भएको चर्चा गर्दै महासचिव गुरुङले अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा यी सबै उपलब्धि सम्भव भएको बताउनु भयो। अहिले अध्यक्ष प्रचण्डकै नेतृत्वको सरकारले देशमा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको नेतृत्व गरिरहेको पनि उहाँले बताउनु भयो। सरकारले भ्रष्टाचार, कमिसनखोर र दलालहरुलाई कारबाहीको दायरामा ल्याउँदै गर्दा भ्रष्ट, दलाल र सामन्तीहरुको स्वर्गमा हलचल पैदा भएको उहाँले बताउनु भयो।

कतिपय देशीविदेशी षड्यन्त्रकारीहरुले देशलाई पछाडि फर्काउने दुस्प्रयास गरिरहेको चर्चा गर्दै गुरुङले देशलाई पछि फर्काएर मध्ययुगीन सामन्ती बर्बर युगमा लिन असम्भव भएको बताउनु भयो। मुलुकको परिवर्तनलाई उल्ट्याउन दलहरुबीच विभाजन ल्याउने, गठबन्धन तोड्न दुस्प्रयास गर्ने, शान्ति सम्झौता विरुद्धका हर्कत गर्ने, कहिले सडकमा गणतन्त्रको विरुद्धमा नाराबाजी गर्ने त कहिले धर्मका नाममा हिंसा फैलाउन षड्यन्त्रहरु भइरहेको चर्चा गर्दै महासचिव गुरुङले प्रतिगामी शक्तिहरुका यस्ता गतिविधिले परिवर्तनकारी, गणतन्त्रवादी शक्तिहरु कत्ति पनि नडगमगाउने र एकढिक्का भएर अघि बढ्ने बताउनु भयो।  

महासचिव गुरुङले सभामा सम्बोधनको शुरुमा बनगाड कुपिन्डे नगरपालिकाबाट जनयुद्धका क्रममा शहादत प्राप्त गर्ने सहिदहरु र बेपत्ता योद्धाहरुको नाम लिई उहाँहरुप्रति सम्मान व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज नरेश भण्डारी, पार्टी केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सरकारका मन्त्री भिमप्रकाश शर्मा, पार्टीका कर्णाली प्रदेश अध्यक्ष विमला केसी, पार्टीका केन्द्रीय सदस्य तथा बनगाड कुपिन्डे नगरपालिका प्रमुख कर्णबहादुर बुढाथोकी, पार्टी केन्द्रीय सदस्य तथा  कीर्तिबहादुर पुन लगायतले सम्बोधन गर्नुभएको थियो।