संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

नारायण काजी श्रेष्ठ

वरिष्ठ उपाध्यक्ष

गोरखाको जौबारीमा, पिता मेघनारायण श्रेष्ठ र आमा ज्योतिमाया श्रेष्ठबाट जन्मिनुभएका नारायणकाजी श्रेष्ठको चार पुस्ता अगाडिको पुर्खा उपत्यकाको पाटनबाट जौबारी पुगेको थियो। श्रेष्ठका बुवाआमाको निधन भैसकेको छ भने पाँच दाजुभाइमध्ये उहाँ ठुलोकान्छो हुनुहुन्छ। श्रेष्ठले एकदेखि १० कक्षासम्म गाँउकै विद्यालयमा पढ्नुभएको थियो।  २०१७ सालमा एसएलसीको परीक्षा दिने बेलामा उमेर नपुगेकाले प्रमाणपत्रमा जन्म २०१६ साल बनाइएको थियो । 
उहाँले जनप्रशासन विषयमा स्नातकोत्तर र  अर्थशास्त्रमा स्नातकसम्मको औपचारिक अध्ययन गर्नुभएको छ। मेडिकल साइन्सको प्राम्भिक अध्ययन गर्नुभएका श्रेष्ठसँग छोटो समय हेल्थपोस्ट र सिद्दार्थ वनस्थली विद्यालयमा शिक्षण गरेको अनुभव समेत छ। राजनीतिक जीवन क्रममा मुल्यांकन, गर्जन जस्ता पत्रिकाको सम्पादनको जिम्मेवारी समेत उहाँले वहन गर्नुभयो।
श्रेष्ठले दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादबारे गहिरो अध्ययन गर्नुभएको छ। उहाँलाई सबैभन्दा मनपर्ने पुस्तक लेनिन लिखित राज्य र क्रान्तिहो।
भूमिगत हुँदा प्रज्ज्वल’, ‘नरेन्द्रमान’, ‘दिपक’, प्रकाशनामबाट उहाँले राजनीतिक गतिविधि गर्नुभएको थियो । उहाँले
१ क्रान्तिकारी मार्क्सवाद र नेपाली क्रान्ति भाग
२. माघ १९ र क्रान्तिकारी कार्यनीति
३. माओवादी र माओवादी जनयुद्घबारे ।
४. क्रान्तिकारी माक्र्सवाद र नेपाली क्रान्ति भाग २ लगायतका पुस्तकहरू लेख्नुभएको छ।
सानै उमेरमा उहाँ नेकपा चौथो महाधिवेशन (चौम)मा संगठीत हुनुभयो। उहाँलाई गोर्खाका कम्युनिष्ट नेता श्रीनाथ अधिकारीले ०३८ सालमा पार्टी सदस्यता दिनुुभएको हो। उहाँ पार्टीको सेल कमिटीमा हुँदैगर्दा मोहनविक्रम सिंह र निर्मल लामाबीचको मतभेदले ०३९ सालमा पार्टीमा विभाजन भइ मोहनविक्रम समूह अलग भयो। उहाँ चौमको काठमाडौं जिल्ला समिति सदस्य हुँदै ०४२÷४३ सालतिर केन्द्रीय सदस्य हुनुभयो।
२०४८ सालमा प्रचण्ड नेतृत्वको मोटो मशाल, निर्मल लामा नेतृत्वको चौम, रुपलाल विश्वकर्मा नेतृत्वको सर्वहारावादी श्रमिक संगठन र हरिबोल गजुरेल नेतृत्वको विद्रोही मसालबीच एकता गर्ने क्रममा उहाँ पार्टी एकता संयोजन समितिको सदस्य हुनुभयो। एकता भएपछि ०४७ सालमा एकता महाधिबेशनबाट उहाँ नेकपा(एकताकेन्द्र)को पोलिटब्युरो सदस्य हुनुभयो। ०५१ सालमा पार्टी विभाजित हुँदा उहाँले एकताकेन्द्रको सचिवको जिम्मेवारी लिनुभयो। लगत्तै महासचिव हुनुभयो। नेकपा(मसाल)सँग पार्टी एकता हुँदा मोहनविक्रम सिंह नेकपा (एकताकेन्द्रमसाल)को महामन्त्री र उहाँ सहमहामन्त्री हुनुभयो। ०६३ सालमा सो पार्टीमा विभाजन भएपछि उहाँ एकताकेन्द्रमसालको महामन्त्री हैसियतमै रहनुभयो।
तत्कालीन नेकपा (माओवादी)ले सुरु गरेको जनयुद्ध र राजाको सक्रिय निरंकुशताविरुद्ध आन्दोलनरत पार्टीहरूलाई संयुक्त जनआन्दोलनका लागि एकैठाउँमा ल्याएर संविधानसभामार्फत देशको संघीय गणतान्त्रिक परिवर्तन गर्नमा श्रेष्ठको संयोजनकारी भूमिका छ। भारतको सिलगुडीमा वाम पार्टीहरूको संयुक्त बैठक गराउन र ०६२÷६३ को ऐतिहासिक जनआन्दोलनका लागि तत्कालीन सात राजनीतिक दलहरू र तत्कालीन नेकपा (माओवादी)बीच वार्ता एवं १२ बुँदे सहमति गराउन उहाँले कुशल र संयोजनकारी भूमिका खेल्नुभएको थियो। 
ऐतिहासिक जनआन्दोलनको सफलतासँगै नेकपा एकता केन्द्रमसाल र नेकपा माओवादीको एकता सम्पन्न भइ एकीकृत नेकपा माओवादी बनेपछि उहाँ त्यस पार्टीको उपाध्यक्ष बन्नुभयो। पहिलो संविधानसभा सदस्य उहाँ २०६८ साउन १६ मा तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको गठबन्धन सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्नुभयो।तर उक्त कार्यकाल जम्मा २८ दिनको थियो।त्यसपछि २०६८ भदौ १८ मा तत्कालीन एकीकृत माओवादीका अर्का उपाध्यक्ष डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बन्नुभयो।
कम्युनिष्ट पार्टीहरुको ध्रुवीकरणको क्रममै नेकपा माओवादी केन्द्र बनेपछि उहाँ पार्टीको दोश्रो वरियताको स्थानमा उपाध्यक्ष हुनुभयो। २०७५ सालमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले नेकपा बन्दा श्रेष्ठ नौ जनामध्येको केन्द्रीय सचिवालय सदस्य हुनुहुन्थ्यो। तर २०७७ सालमा सर्वोच्च अदालतले नेकपालाई अलग गराइदिएपछि उहाँ पूर्ववत् माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष नै हुनुभयो।
राष्ट्रियसभा सदस्य श्रेष्ठ २०७९ पुस ११ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा गठित सरकारमा उपप्रधानमन्त्री एवम भौतिक पुर्बाधार तथा यातायातमन्त्री हुनुभयो। २०७९ चैत्र १७ गतेदेखि उहाँ उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको जिम्मेवारीमा रहनुभएको छ।