संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

गिरिराजमणी पोखरेल

उपमहासचिव

नेकपा (माओवादी) केन्द्रका सचिव गिरिराजमणि पोखरेलको जन्म २०१५ साल फागुन २४ गते खोटाङ जिल्लाको खार्पामा भएको हो । बुबा चन्द्रमणि पोखरेल र आमा कनककुमारी पोख्रेलका काइँलो छोरोका रूपमा जन्मिनु भएको पोखरेलको प्रविसम्मको शिक्षा खार्पामै रहेको शारदा प्राविमा गर्नुभएको हो ।
त्यसपछि खोटाङकै बुइँपामा रहेको चम्पावती माविमा पोख्रेलले चम्पावती माविमा कक्षा ९ अध्ययन गर्नुभयो । गाउँकै शारदा माविमा फर्केर १५ वर्षको उमेरमा वि.सं. २०३० सालमा एसएलसी उत्तीर्ण गर्नुभएको पोखरेलले उच्च शिक्षा विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट गर्नुभएको हो ।
उहाँले कमर्शमा प्रमाणपत्र, स्नातक र स्नातकोत्तर तहको पढाइ पूरा गरेर विराटनगर क्याम्पसमा स्नातक पढ्दै गर्दा २०३६ सालमा गिरिराजमणि पोखरेल नेकपा (चौम) को पूर्णकालीन कार्यकर्ता बनिसक्नु भएको थियो ।
२०३८ सालमा अनेरास्ववियु छैटौँको सातौँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य हुनुभएका उहाँ विद्यार्थी सङ्गठनको मेची, कोशी र सगरमाथा अञ्चलको जिम्मेबारी बहन गर्दै २०४१ सालमा भएको विद्यार्थी सङ्गठनको आठौँ राष्ट्रिय सम्मेलनबाट विद्यार्थी सङ्गठनको केन्द्रीय अध्यक्ष बन्नुभयो ।
२०४३ सालमा विद्यार्थी सङ्गठनको अध्यक्ष भएकै बेला भारतको दरभङ्गामा भूमिगत रूपमा भएको नेकपा (चौम) को सम्मेलनले पोखरेललाई पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित गर्यो । 
पार्टीमा जोडिएर उहाँ २०४६ सालमा आन्दोलन अगाडि बढाउन गठन भएको वाममोर्चाको केन्द्रीय नेता चयन हुनुभयो । 

पोख्रृेल २०४६ सालमा प्रजातन्त्र स्थापना भएलगत्तै गठन भएको नेकपा (चौम) को युवा मोर्चा अखिल नेपाल जनवादी युवा लिगको संस्थापक अध्यक्ष चयन हुनुभयो ।
नेकपा चौम, सर्वहारा श्रमिक सङ्गठन, नेकपा मसाल र नेकपा जनमुखीबीच एकीकरण भएर नेकपा एकता केन्द्रको गठन भयो । प्रचण्ड महासचिव रहेको एकता केन्द्रको पोख्रेल केन्द्रीय सदस्य बन्नुभयो । पार्टीको कार्यदिशासम्बन्धी विवादको कारण २०५१ सालमा नेकपा एकता केन्द्रमा विभाजनपछि पोख्रेल निर्मल लामाको नेतृत्वमा नेकपा एकता केन्द्रमा सक्रिय हुनुभयो ।
नेकपा एकता केन्द्रको ०५४ सालको विशेष राष्ट्रिय सम्मेलनले गिरिराजमणि एकता केन्द्रको पोलिटब्युरो सदस्य बन्नुभयो । २०५८ सालमा नेकपा एकता केन्द्र र नेकपा मसालबीच पार्टी एकीकरण भएपछि नेकपा एकता केन्द्र मसालको निर्माण भयो । पोखरेल त्यसको पनि पोलिटब्युरो सदस्य बन्नुभयो । नेकपा माओवादी र नेकपा एकता केन्द्र मसालबीच २०६५ सालमा पार्टी एकता भएर तत्कालीन एकीकृत नेकपा माओवादीको निर्माण भयो ।
पोख्रेल त्यसबेला एमाओवादीको स्थायी समिति सदस्य बन्नुभयो । २०७३ सालमा बादल नेतृत्वको क्रन्तिकारी माओवादीलगायत दश वाम पार्टीसँग पार्टी एकता भएपछि पोख्रेल माओवादी केन्द्रको केन्द्रीय कार्यालय सदस्य बन्नु भएको हो । त्यसअघि उहाँ २०५८ सालमा राष्ट्रिय जनमोर्चा र संयुक्त जनमोर्चाबीच पार्टी एकता भएर बनेको जनमोर्चा, नेपालको केन्द्रीय उपाध्यक्ष हुनुभयो ।
पोख्रेल २०५० को दशकदेखि उपल्लो सगरमाथा–जनकपुर, तल्लो सगरमाथा–जनकपुरसम्मका सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सिन्धुली, रामेछाप, उदयपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बुलगायतका जिल्ला र कोशीपूर्वका जिल्लाहरूमा समेत निरन्तर वर्ग सङ्घर्ष र क्रान्तिकारी रूपान्तरणको आन्दोलनको नेतृत्व गर्दै आइरहनु भएको छ ।