लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा अध्यक्ष प्रचण्डद्वारा जारी शुभकामना
सर्वहारा वर्गका नेता एवं विश्व समाजवादी क्रान्तिका नायक भ्लादिमिर इल्यिच लेनिनको १५२ औं जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थापना दिवसको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण जनसमुदाय एवं विश्वभरिका सर्वहारा÷श्रमजीवी वर्गप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु । महान जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायत न्याय, समानता र स्वतन्त्रताको संघर्षमा बलिदानी गर्नुहुने महान् शहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । बेपत्ता योद्धाहरूप्रति उच्च सम्मानका साथ घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
आजको दिन देशभित्रका कम्युनिस्ट क्रान्तिकारीहरूका लागि मात्र नभएर विश्वभरिकै सर्वहारा एवं श्रमजीवी वर्गका निम्ति गौरवको दिन हो । रूसी क्रान्तिका नायक लेनिनको जन्मजयन्तीको अवसर पारेर स्थापना गरिएको नेकपाले ७३ वर्षको अन्तरालमा देशभित्र आमूल परिवर्तनको नेतृत्व गरेको छ । कम्युनिस्ट क्रान्तिकारीहरूको अगुवाइ र लोकतान्त्रिक शक्तिहरूको हिस्सेदारीमा पुँजीवादी जनवादी क्रान्ति आफ्नै विशेषता र मौलिकतासहित सम्पन्न भएको छ, देश सामाजिक न्यायमा आधारित समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको पूर्वसन्ध्यामा छ । यो हामी सबै नेपालीहरूका लागि गौरवको कुरा हो ।
प्रतिगमनविरूद्धको संयुक्त संघर्षको क्रममा गठित वाम–लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धीहरू, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ छ । यही मान्यताका आधारमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले सबै स्थानीय तह र वडाहरूमा तालमेललाई प्रभावकारी बनाउने निर्णय गरेको छ । तसर्थ, आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार पार्न गठबन्धनमा आवद्ध दलका नेता–कार्यकर्ता र सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा विशेष अपील गर्दछु, धन्यवाद !
९ वैशाख, २०७९ (२२ अप्रिल २०२२)
……………………………
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष