स्थानीय तह निर्वाचन–२०७९ का सन्दर्भमा नेकपा (माओवादी केन्द्र) को अपिल!

आदरणीय आमाबुवा, दिदीवहिनी तथा दाजुभाइहरू,

संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणापछि त्यसलाई समाजवाद उन्मुख समावेशी लोकतन्त्रका रुपमा संस्थागत गरिएको नयाँ संविधान कार्यान्वयन प्रक्रियामा स्थानीय तहको दोस्रो निर्वाचन आगामी २०७९ बैशाख ३० गते हुँदैछ। नेपालको सन्दर्भमा स्थानीय, व्यवस्थापिका र कार्यपालिकाको भूमिकामा समेत रहेको स्थानीय तह (सरकार) नेपाली मौलिक विशेषतामा आधारित समाजवाद उन्मुख राज्य व्यवस्थाको एक महत्वपूर्ण आधार हो। साथै, आवधिक निर्वाचन जनताको सर्वोच्चतालाई स्थापित गर्ने महत्वपूर्ण माध्यम र अवसर पनि हो। यो महत्वपूर्ण अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायका विभिन्न पेशा व्यवसायमा रहनुभएका दिदीबहिनी तथा दाजुभाइहरु र सम्मानित जेष्ठ नागरिकहरुमा हार्दिक अभिवादन व्यक्त गर्दछ। साथै, निर्वाचनको महाअभियानमा सक्रिय रहँदै उत्साहपूर्वक मतदानमा सहभागिताको लागि आम जनसमुदायमा समेत विशेष आग्रह गर्दछ।