महानगरका सबै विद्यालयमा इन्टरनेटको प्रबन्ध मिलाउँछौंः रेणु दाहाल
काठमाडौं। भरतपुर महानगरपालिकाले विपन्न परिवारका छोरीहरूलाई साइकल वितरण गरेको छ। पहिलो चरण अन्तर्गत आज भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले १३५ जनालाई साइकल वितरण गरेकी हुन्। महानगरले ३३० जना विपन्न परिवारका छोरीहरूलाई साइकल वितरण गर्ने लक्ष्य राखेको छ।
आज वितरण गरिएको प्रति साइकलको मूल्य ५ हजार ६६० रहेको महानगरले जनाएको छ। वितरण गरिएका साइकल भारतीय कम्पनी एप्रोनको रहेका छन्। जोखिममा परेका महिलासँग मेयर कार्यक्रम अन्तर्गत लक्षित वर्गका किशोरीको शैक्षिक निरन्तरताका लागि साइकल वितरण गरिएको हो।
भरतपुर २२ को पटिहानीमा रहेको आधारभूत विद्यालयमा मंगलबार एक कार्यक्रमको आयोजना गरी ५ वडा रहेका १७ वटा विद्यालयका विपन्न छात्राहरूलाई साइकल वितरण गरिएको छ। प्रति वडामा २७ साइकलका दरले महानगरका १३, १४, २२, २३, २४ नम्बर वडाका विद्यार्थीलाई साइकल वितरण गरिएको हो। साइकल पाएपछि विद्यार्थीहरू निकै हर्षित देखिन्थे। साइकल पाएपछि विद्यालय जान आउन सजिलो हुने र पढाइमा निरन्तरता दिन सहज हुने उनीहरूले प्रतिक्रिया दिए।
महानगरको अघिल्लो आर्थिक वर्षको योजना अन्तर्गत उक्त साइकल वितरण गरिएको छ। कोरोनाको कारण अघिल्लो आर्थिक वर्षमा साइकल वितरण गर्न नसकिएकाले यस पटक गरिएको महानगर प्रमुख दाहालले बताइन्। उनले महानगरका विद्यालयलाई छात्रामैत्री र प्रविधिमैत्री बनाउन लागिपरेको बताइन्। महानगरका आधारभूत विद्यालयलाई ल्यापटप वितरण गर्ने तयारी समेत रहेको उनले सुनाइन्।
साथै यस आर्थिक वर्ष भित्र सबै विद्यालयहरूमा इन्टरनेटको प्रबन्ध गरिने पनि उनले बताइन्। महानगरभित्रका सरकारी विद्यालयहरूको शैक्षिक स्तर विकासका लागि भौतिक संरचना विकासमा धमाधम काम भइरहेको मेयर दाहालको भनाई छ। १ सय २३ वटा सामुदायिक विद्यालयमध्ये ६० वटा विद्यालयको भौतिक संरचना निर्माण अहिले महानगरले गरिरहेको उनले बताइन्।